9841825558 | 9852835350 presscentrenepal@outlook.com

प्रमुख प्रतिपक्षी दल  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा भन्ने जनमत संग्रह भएको बताएका छन् ।

प्रचण्डले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले उत्साह देखाएको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- `अहिले हुने गैरहेको स्थानीय तहको ४४ ठाउँको उपनिर्वाचनलाई जनता भ्रष्टाचारको पक्षमा कि विपक्षमा भनेर फैसला गर्ने सर्वोच्च अदालत हाे ।´ ‘नेपाली जनता भ्रष्टाचारको पक्षमा हुन सक्दैनन् । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा छन् । यो उपनिर्वाचन, हेर्दा उपनिर्वाचन भएपनि यथार्थमा भ्रष्टाचार पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह नै हो ।’ प्रचण्डले भनेका छन् ।

उनले कीर्तिपुरको मेयर पदका लागि पार्टीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जन आफ्नो पार्टीको मात्रै नभएर सबैको साझा उम्मेद्वार भएकोले महर्जनजस्तो उम्मेद्वार पाउनु खुशीको कुरा भएको बताए । उनले महर्जन साझा उम्मेद्वार भएकोले कीर्तिपुरको मुहार फेरिने विश्वास दिलाए । मेयरका प्रत्यासी महर्जनले आफूले जितेमा सरकारी सेवा सुविधा नगरको विकासमा खर्चिने घोषणा गरेकोमा पनि प्रचण्डले प्रशंसा गरे ।

उनले भने,‘कीर्तिपुरवासी साँच्चै नै भाग्यशाली हुनुहुन्छ, यस्तो उम्मेद्वार विरलै प्राप्त हुन्छ । यो अवसर कीर्तिपुरका जनताले गुम्न दिने छैनन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले पछिल्लो पटक आफूहरुले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा महाभियान चलाएको स्मरण गराए । उनले समाजमा व्याप्त विभेद, बेथिति, अन्यायको विरुद्ध आफूहरुले अभियान चलाएको पनि बताए ।

उनले भने,‘नेपालको इतिहासमा नै भ्रष्टाचारविरुद्ध सबभन्दा ठूलो अभियानको सुरुवात हामीले गर्यौं । र, त्यो अभियान सञ्चालन गर्ने क्रममा ठूला ठूला नेताहरु, ठूला कर्मचारीहरु, धेरै त्यसखालका मानिसहरु कानूनको घेराभित्र ल्याउने कोशिस गरियो, र गर्दै जाँदा त्यो भ्रष्टाचारविरोधी अभियानको तीर धेरै ठूला ठाउँमा पुग्ने भयो, तपाईंहरुलाई पक्कै थाहा होला, मैले अहिले सबै भन्न परेन । त्यो अहिले सरकारकै नेतृत्व गरेकैहरु ठाउँमा पुग्ने भयो, एकदम सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने केही कुरा छैन् । बेचन झा र प्रतिक थापा गिरफ्तार भैसकेपछि, फरार अभियुक्तहरु गिरफ्तार भैसकेपछि, भ्रष्टाचारविरोधी अभियानको सुईं कता सोझियो भन्ने कुरा तपाईंहरुले बुझिराख्नु भएकै छ । ठिक त्यसकारण संविधान मिचेर, मैले भन्ने गरेको छु यो सरकार संविधान मिचेर बनेको हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्नेमा, २ मै फर्किनु, संविधानविपरित छ । यो अलोकतान्त्रिक हो । हिन्दूस्तानमा बिजपी र कंग्रेस मिलेर सरकार बनाएका छन् ? कहिल्यै बनाएका छैनन् ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मेयरमा शिवशरणले जितिसकेकाे भन्दै घाेषणा गर्न मात्रै बाँकी रहेकाेले ढुक्कसँग गाेलाकार भित्रकाे हँसिया हताैडामा भाेट दिन मतदातालाई आग्रह गरेका थिए । उनलेे पार्टीको तर्फबाट एकताको सन्देश सुनाउन आएकाे बताउँदै कीर्तिपुर नगर मेयरमा माओवादीलाई र काठमाडौं १६ काे वडाध्यक्षमा समाजवादी उमेदवारलाई जिताउन सम्पुर्ण मतदातालाई अपील गरे ।

File Type: jpg
File Size: 150 KB
Categories: News
Author: Presscentre Nepal