मंसिर १६ गते मोरङको ग्रामथानमा उपनिर्वाचन हुँदैछ । मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदको निर्वाचन हुँदैछ। अध्यक्षमा १ स्वतन्त्रसहित १६ जना अध्यक्ष पदमा मैदानमा छन् ।
२०७९ मा ग्रामथानको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गएको असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको यहाँ त्यो निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको थियो।
स्थानीय तह निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्ममा १०२ जना नयाँ मतदाता थपिएका छन्।
नयाँ मतदाता संख्याअनुसार १३ हजार ३ जना पुरूष र १३ हजार ४१ जना महिला मतदाता छन्। ग्रामथानका १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएको छ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए। त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए।
अहिले माओवादी उमेदवार माझी मतदाताकाे राेजाईमा देखिएका छन् । कांग्रेस एमालेले गरेको भ्रष्टाचार बेथितिकाे कारण पनि विकल्पकाे रूपमा माओवादीलाई जनताले आशाकाे नजरले हेरेका छन् ।
माओवादी उमेदवार नमाेनारायण माझीसँगकाे कुराकानी –
कांग्रेस एमालेले विगतकाे विरासत दाेहाेर्याउने सपना नदेख्दा हुन्छ – नमाेनारायण माझी, अध्यक्ष उमेदवार

तपाईं त दुई महिनादेखि घरदैलो अभियानमा हुनुहुन्छ। कस्तो छ यहाँको चुनावी माहोल?
माहोल एकदमै राम्रो पाएको छु। गाउँमा ठूलो बेथिति र भ्रष्टाचार छ। सुशासन छैन। कर्मचारीतन्त्र हाबी भएको छ। यसको अन्त्य गर्न र गाउँपालिका ‘ट्रयाक’ बाहिर गएको छ। त्यसलाई ठीक पार्न नमोनारायणलाई जिताउनुपर्छ भन्ने माहोल छ।
तपाईंलाई जिताउनुपर्छ भन्ने ठहरमा ग्रामथानवासी कसरी पुगे, केही आधारहरू होलान् नि!
कांग्रेस र एमालेले गाउँमा लामो समयदेखि गरेको भ्रष्टाचार, कांग्रेस-एमालेसँग कुनै एजेन्डा नै छैन। यही बेथिति देखेर जनता दिक्क छन्। यही आधारले उनीहरूले मलाई खोजेका हुन्।
त्यसबाहेक मोरङ ४ का संघीय सांसद अमनलाल (मोदी) को क्रेज, हाम्रो पार्टी अध्यक्ष प्रचण्डको क्रेज, माओवादीप्रति देशैभर देखिएको क्रेज, जनतामा छाएको निराशा, यी सबै ‘फ्याक्टर’हरू मिलेको छ। नमोनारायण र माओवादीबाहेक अरुले राम्रो गर्न सक्दैन भन्ने यहाँका जनताको बुझाई छ।
तपाईंले त सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्नुभयो। जनतामाझ के-के एजेन्डा लगिराख्नुभएको छ?
गाउँपालिकामा व्याप्त भ्रष्टाचारको अन्त्य मेरो मुख्य एजेन्डा हो। सुशासन कायम गर्ने, विकास निर्माणलाई गति दिने, बजेट कार्यान्वयन गर्ने, स्कुलहरूको अवस्था सुधार्ने, स्वास्थ्य सेवा सुधार्ने, किसानलाई सेवा दिने मेरो मुख्य लक्ष्य र एजेन्डा हो। हाम्रो समाजको रुपान्तरण राम्रोसँग भइरहेको छैन, यस्तोमा माओवादीले जितेन भने भोलि झन् यहाँ के होला भन्ने त्रास जनतामा छ।
विकासको आशा कहिल्यै पूरा हुँदैन, कहीँ पनि हुँदैन। तर मैले भोट दिएर जिताएको मान्छेले आफूसँग भावनात्मक सम्बन्ध देखाओस् भन्ने अपेक्षा जनताको हुन्छ। म त्यो अपेक्षा पूरा गर्न लाग्नेछु।
तपाईंको क्षेत्रका सांसद अमनलाल मोदीले २०७४ मा एमालेसँग, २०७९ मा कांग्रेससहितका धेरै दलसँग गठबन्धन गरेर जित्नुभएको हो। स्थानीय चुनावमा पनि माओवादी ठूलो अन्तरले तेस्रो भएको देखिन्छ। यस्तो अवस्थामा पनि आत्मविश्वास देखाइरहनु भएको छ?
हो, म आत्मविश्वासी छु। किनभने कसैले पनि विरासतको आशा नगरे हुन्छ। हिजो धरानमा, काठमाडौंमा के भयो? जनतालाई आफ्नै पकेटको जस्तो सोच्नु गलत हो। यही गाउँ (ग्रामथान ५ को खदरा टोल) गाउँपालिका उपाध्यक्षको टोल हो। उहाँ एमालेबाट निर्वाचित हुनुहुन्छ। उहाँसँग गाउँले कोही सन्तुष्ट देखिएन। यस्तो अवस्था पालिकाभरि छ। त्यसैले पनि म आत्मविश्वासपूर्वक यसो भनिरहेको छु। फेरि कांग्रेस र एमाले एजेन्डाविहीन भएर मेरो आलोचनामा मात्रै केन्द्रीत छन्। यसले पनि देखाउँछ, यहाँ मेरो पक्षमा जनलहर आएको छ।
तपाईंको मुख्य प्रतिष्पर्धी को हो?
कांग्रेस–एमाले नै मेरो मुख्य प्रतिष्पर्धी हुन्। उनीहरू त एमाले र कांग्रेसबीच द्विपक्षीय प्रतिष्पर्धा हुने बताइरहेका छन्। तर, यहाँ प्रतिष्पर्धा त्रिपक्षीय हुँदैछ। त्यसमा पनि म धेरै अगाडि छु। – अनलाइन
