9841825558 | 9852835350 presscentrenepal@outlook.com

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्थलमा भएको सामान चोरी प्रकरणमा दाेखाकी उमा शेर्पा प्रश्नको घेरामा परेकी छिन् । चाेरी प्रकरणमा उनको कम्पनीका कर्मचारीकाे प्रत्यक्ष संलग्नताकाे नयाँ प्रमाण फेला परेको छ ।

हालसम्मको अनुसन्धानमा आयोजनामा निर्माण कार्य गरिरहेको च्छाेराेल्पा कन्ट्रक्सन प्रालि (सिआरसी) का जिम्मेवार दुई कर्मचारीको प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार, गौरीशंकर–७ घर भई हाल सिआरसी कन्सट्रक्सनमा साइड इन्चार्जका रूपमा रहेका कामे भनिने छिरिङ शेर्पा र सोही कन्सट्रक्सनका कामदार विगु गाउँपालिका–१ का निमा तामाङ (लामा)ले सिँगटीमा कबाडी व्यवसाय सञ्चालन गरी बस्ने ४८ वर्षीय विभिचन भनिने रवि महतोलाई आयोजना स्थलमा रहेका महँगो मूल्यका उपकरणहरू (जस्तै, ५६० केभीए ट्रान्सफर्मर, जेनेरेटर, मोटा केवुल तारहरू, इलेक्ट्रिकल प्यानल बोर्ड, र हाईभोल्टेज केवुल) चोरी गरी बेचेका थिए।

सबैजना मध्ये तिहारकाे रमाइलोमा व्यस्त रहेकाे माैका छाेपी शेर्पा टाेलीले महङ्गा सामान चाेरी गरि बेचेका हुन् । घटनापछि व्यवसायी महतोलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान गर्दा महतोको खाताबाट छिरिङ र निमाको खातामा बारम्बार रकम गएको देखिएपछि प्रहरीले छिरिङ र निमालाई पनि पक्राउ गरेको थियो।

सामान किन्ने महतोलाई १८ दिन हिरासत, चोरी गर्ने २ दिनमै छुटेः

सामान चोरी प्रकरणमा संलग्नलाई भन्दा सामान किन्ने व्यवसायीलाई प्रहरीले धेरै दिन हिरासतमा राखेको थियो। व्यवसायी महतोको कबाडी स्टोरमा चोरीको सामान फेला परेपछि गत कार्तिक १७ गते गाेरूतिहारकै दिन प्रहरीले महतोलाई पक्राउ गरेको थियो। अनुसन्धानका लागि भन्दै महतोलाई पटक–पटक जिल्ला अदालत दोलखाबाट म्याद थप गरी १८ दिन हिरासतमा राखियो। तर छिरिङ शेर्पा र निमा लामालाई भने प्रहरीले २ दिनमै छाडेको थियो। शेर्पा र लामालाई सरकारी वकिलको कार्यालयले गहिरो अनुसन्धान गर्नुपर्नेभन्दै बाहिरै राखेर अनुसन्धान गर्न भन्दै हिरासत मुक्त गर्न आदेश दिएपछि थप आशंका जन्माएको छ ।
यस विषयमा हेर्दाहेर्दै डटकमले घटनाबारे सोधपुछ गर्दा प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका दुई जनाको नाम सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको थियो। तर, ती व्यक्तिहरू साधारण तारेखमा छुटिसक्दा पनि प्रहरीले छिरिङ र निमाको परिचय गोप्य नै राख्यो।

छिरिङ र निमाको परिचय गोप्य राख्नुको कारण ?

तामाकोशीको सामान चोरीमा छिरिङ र निमाको संलग्नता पुष्टि हुने विभिन्न कागजात भेटिएका छन्। आरोपी महतोले २०८१ असोज २२ गते छिरिङ शेर्पाको खातामा १ लाख रुपैयाँ भुक्तानी गरिदिएका थिए। त्यसको भोलिपल्ट, असोज २३ गते पनि महतोले छिरिङकै खातामा १ लाख रुपैयाँ पठाएका थिए। त्यस्तै, कात्तिक १२ गते उनले पुनः छिरिङकै खातामा २ लाख रुपैयाँ जम्मा गरेका थिए। सोही दिन महतोले निमा लामाको खातामा पनि २ लाख रुपैयाँ ट्रान्सफर गरेको अनलाइन भौचरमा देखिएको छ। विद्युतीय भाैचरमा महताेले स्पष्ट रूपमा कवाडी वापतकै पैसा उल्लेख गरेका छन् ।

व्यवसायी महतोले आफूले यिनै २ जनाबाट सामान किनेको बताउँदा र महतोकै खाताबाट यी २ जनाकै नाममा रकम भुक्तानी भएको प्रमाण भेटिँदा समेत प्रहरीले यस घटनामा मौनता देखाएको छ। र यसभन्दा माथि कुनै पनि अनुसन्धान नगरी छिरिङ र निमा दुवैलाई साधारण तारेखमा छोडिएको छ।

बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।

बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।
अनुसन्धानले छिरिङ र निमा दुवै उमा शेर्पा र उनका श्रीमान् फुलाक्पा शेर्पाको कम्पनीका कर्मचारी रहेको पुष्टि गरेको छ। स्थानीयले यस अपराधमा उमा शेर्पा दम्पतीको योजनाविना यस्तो गतिविधि सम्भव नभएको दाबी गरेका छन्। चोरीको सामान बिक्रीबाट प्राप्त रकम छिरिङ र निमाको खातामा पुगेको प्रमाणित हुँदासमेत उक्त रकम शेर्पा दम्पत्तिको खातामा गएको हो वा होइन भन्नेबारे प्रहरीले कुनै अनुसन्धान गरेको छैन।

प्रहरीको भूमिकामा प्रश्नः

उमा शेर्पा अहिले नेकपा एमालेको उम्मेदवार रहेकाले यस घटनामा प्रहरीमाथि चर्को दबाब परेको दाबी गरिएको छ। परिणामस्वरूप, प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक नगर्नुका साथै उनीहरूलाई साधारण तारेखमा छोडेको आरोप लागिरहेको छ। व्यवसायी महतोमाथि मात्रै कारबाही गरेर घटना लुकाउने प्रयास भइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

स्थानीयले यस प्रकरणमा थप अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले राजनीतिक हस्तक्षेपविरुद्ध पनि आक्रोश व्यक्त गर्दै प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। -हेर्दाहेर्दै

 

 

File Type: jpg
File Size: 257 KB
Categories: News
Tags: Bagmati
Author: Presscentre Nepal