सत्तारुढ नेकपा (एमाले)ले राजधानीमा गर्न लागेकाे सभा फितलो हुने संकेत देखिएको छ । जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराई नै अकस्मात कम्बोडिया भ्रमणमा हिँडेपछि सभाकाे तयारी र ब्यवस्थापनमा नमिठाे धक्का लागेकाे एमाले बागमती प्रदेशका एक नेताले बताए ।
सभा आज मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा हुने बताइएको थियाे । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको थियाे ।
एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको बताएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताएका थिए ।
संयोजक भट्टराईले पत्रकार सम्मेलनमा भनेका थिए- ‘पर्सिको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पुर्याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौ भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं । र दरबारमार्गमा हाम्रो सभा हुनेछ । अलि फराकिलो सडक त्यही पायौ, यता भृकुटीमण्डवमा गर्ने कि भन्ने कुरा थियो ।
तर मुख्य आयाेजक नेतृत्व उनी नै कम्बोडिया हिँडिदिएपछि सभाकाे तयारी र उपस्थिति पुरै खस्किने स्थिति देखा परेको हाे । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्बाेधन गर्ने भनिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीकाे ३२ अरब कम्बोडियाकाे कम्पनीमा लगानी भएको भनेर प्रचार गरिदिएकाे भाेलीपल्टै भट्टराईलाई पार्टी अध्यक्षकै निर्देशनमा आकस्मिक रूपमा कम्बाेडिया पठाइएपछि एमाले पार्टीका नेताहरू नै अन्याेलमा परेका छन् । प्रसाईंलाई साइबर अपराध अभियाेगमा गिरफ्तार गरिएको भएता पनि उनलाई ओली विरूद्वकाे तथ्य सार्वजनिक गरेकोे भनेर गिरफ्तार गरिएको आम बुझाई पाइन्छ ।
